FAQs Complain Problems

समाचार

सार्वजनिक सरोकारको बिषयमा अत्यन्त जरुरी सूचना !!

बूढानीलकण्ठ नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण नगरवासी महानुभावहरुमा निम्न बमोजिमको सार्वजनिक सरोकारका विषयहरु पालना गर्न गराउनुहुन अनुरोध गरिन्छ ।

१. घर तथा अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्दा सम्बन्धित घर/जग्गाधनीहरुले निर्माण सामाग्रीहरु आफ्नो घर कम्पाउण्डभित्र व्यवस्थित गरिदिनुहुन र घर कम्पाउण्डभित्र राख्ने स्थान नभई अन्य स्थानमा राख्नुपरेमा नगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ । अन्यथा प्रचलित नियम बमोजिम आवश्यक कारवाही गरिनेछ ।

२. घर तथा कम्पाउण्डबाट निस्कने पानीको निकास ड्रेन / ढलमा जडान गरेको हुनुपर्नेछ। बाटो वा सार्वजनिक स्थानमा खुल्ला छोडिएको पाईएमा आवश्यक कारवाही गरिनेछ ।

३. घरपालुवा कुकुर लगायतका अन्य जनावरहरुलाई घर कम्पाउण्डभित्रै व्यवस्थित गर्नुपर्नेछ । घर बाहिर बाटोमा, सार्वजनिक स्थान वा अरुको घर आँगन अगाडी दिसापिसाब गर्न लगाएमा प्रचलित नियम बमोजिम कारवाही हुनेछ ।

४. फोहोर सङ्कलन गर्न आउने दिनमा घरधनी वा व्यवसायीहरुले आफ्नो घर / पसलबाट निस्केको फोहोर कुहिने र नकुहिने छुट्याएर मात्र फोहोर राख्ने गाडी वा गाडामा राखिदिनुपर्नेछ। जथाभावी बाटो, सार्वजनिक जग्गा, खोला वा अरुको घर आँगन / जग्गामा राखेमा वा सूचना पाएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ । साथै प्लाष्टिकजन्य फोहोरहरु घर कम्पाउण्ड वा अन्य खुला ठाउँमा जलाउन निषेध गरिएको छ ।

५. साइकल / ठेलागाडा / नाइलोमा राखी सडक व्यापार गर्ने तथा अन्य व्यवसाय (वर्कशप, हार्डवेयर लगायत) गर्ने व्यवसायीहरुले बाटो / पेटी अवरुद्ध हुने गरी व्यवसाय सञ्चालन गरेमा वा गराईएमा प्रचलित नियम बमोजिम कारवाही हुनेछ ।

६. बाटो / पेटी वा सार्वजनिक स्थानमा सवारी साधनहरु पार्किग नगर्न र नगराउनुहुन अनुरोध गरिन्छ । अव्यवस्थित पार्कित गरेको देखिएमा नगर प्रहरी र ट्राफिक प्रहरीबाट आवश्यक कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।

७. नगरपालिकाभित्र व्यापार, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा वडा कार्यालयमा दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन अनुरोध गरिन्छ ।

८. नगरपालिका क्षेत्रभित्रका सडक, सम्पदा, पार्क, मठमन्दिर लगायत सार्वजनिक स्थलमा बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरी माग्न लगाउने कार्य नगर्न/नगराउनुहुन अनुरोध छ। यस्तो भए/गरेको पाईएमा नगर प्रहरी तथा प्रहरी प्रशासन मार्फत् नियन्त्रणमा लिई कारवाही गरिनेछ ।