FAQs Complain Problems

समाचार

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

बूढानीलकण्ठ, बैशाख १२ गते । 

बूढानीलकण्ठ नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी विच नगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सभा कक्षमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच बूढानीलकण्ठ नगरपालिका तर्फबाट प्रमुख मिठाराम अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्नुभएको हो ।

 

उक्त समझदारी-पत्रमा साक्षीको रुपमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल र उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट प्रहरी उपरीक्षक श्री कृष्ण बहादुर धितालले हस्ताक्षर गर्नुभयो ।

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो ।

सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र  मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

 

सो अवसरमा नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरपालिकाको आ.व. २०७९/८० को मेयर सुरक्षित कार्यक्रम अन्तर्गत नगरपालिकालाई सुरक्षित र शान्तिपुर्ण बनाउन यस योजना संचालन गर्न लागेको जानकारी दिनुभयो । यस योजनाको प्रारम्भिक चरण देखिनै सर्वेक्षण, प्राविधिक परामर्श तथा जडान र संचालनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा प्राप्त भएको सहयोगका लागी धन्यवाद व्यक्त गर्दै नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग र योजना संचालन सम्बन्धी जानकारी दिनुभयो ।

बूढानीलकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धीत विषयहरूमा सहकार्य गरी सिसिटिभि जडान गरीने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ ।

 

उक्त योजना संचालनको लागी बूढानीलकण्ठ नगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ५ करोड रूपैयाँ उपलब्ध गराउने र सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख  छ ।

 

यस योजनाको संचालन, निरिक्षण, अनुगमन तथा समन्वयका लागी नगर प्रवक्ता नवराज भट्टराईको संयोजक्तवमा ५ सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा प्रहरी उपरिक्षक कृष्ण बहादुर धिताल, प्रहरी नायव उपरीक्षक जय शंकर शर्मा, इन्जिनियर शौरभ लामिछाने लगायत सदस्य सचिव सूचना प्रविधि अधिकृत शान्त पौडेल रहेका छन् ।

सम्झौता बमोजिम विभिन्न चरणको सर्वेक्षण अनुसार नगरपालिका क्षेत्रभरी ३१४ वटा सिसिटिभि क्यामेरा जडान हुने नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभएको छ ।

आज भएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनितालामा, नगर प्रवक्ता नवराज भट्टराई, शुसासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, वडा नं ०३ अध्यक्ष आकाश धिताल, वडा नं ०४ अध्यक्ष श्रीराम के.सी., वडा नं ०६ अध्यक्ष रवि खड्का, वडा नं ०८ अध्यक्ष सुमन तामाङ, प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली,  प्रहरी उपरीक्षक कृष्ण बहादुर धिताल, प्रहरी नायव उपरीक्षक अंगुर जि.सि. (महाराजगंज), प्रहरी नायव उपरीक्षक जय शंकर शर्मा,  प्रहरी निरीक्षक  गणेश कोईराला, प्रहरी निरीक्षक कल्पना सापकोटा, प्रहरी निरीक्षक दिपेन्द्र बहादुर चन्द (बुढानिलकण्ठ) ,प्रहरी निरीक्षक स्मृति सिलवाल (कपन) लगायत नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, शिक्षा,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सींह, सुचना अधिकृत केदार कुमार खड्का, योजना महाशाखा प्रमुख महेश पाठक,  लेखा अधिकृत मिनराज खड्का, सूचना प्रविधि शाखा प्रमुख ईन्जिनियर शान्त पौडेल लगायत विभिन्न महाशाखा/शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।